दफा १६
बोर्डको बैठक र निर्णय
(१) बोर्डको बैठक वर्षको चार पटकमा नघट्ने गरी आवश्यकता अनुसार अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षको अनुपस्थितिमा सदस्य–सचिवले सदस्यहरूसँग परामर्श गरी बोर्डको बैठक बोलाउन सक्नेछ ।
(३) कार्यकारी निर्देशकले अध्यक्षसँग परामर्श गरी बोर्डको बैठकमा छलफल हुने विषयको कार्यसूची सहितको सूचना बैठक बस्ने मितिभन्दा तीन दिन अगावै सबै सदस्यलाई
उपलब्ध गराउनु पर्नेछ ।
(४) बोर्डको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्यहरूले आफूहरूमध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(५) बोर्डमा तत्काल कायम रहेको सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा बोर्डको बैठकका लागि गणपुरक सङ्ख्या पुगेको मानिनेछ ।
(६) बोर्डको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) बोर्डको बैठकमा सम्बन्धित पदाधिकारी तथा स्वास्थ्य बीमा सम्बन्धी विशेषज्ञलाई आमन्त्रण गर्न सकिनेछ ।
(८) बोर्डको बैठकको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(९) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्डले निर्धारण गरे बमोजिम हुनेछ ।